काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार नगदसहित सम्मानित गरिएको छ । लोयल्टी एकेडेमीले उपविजेता नेपाली टोलीका २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।

सम्मानवापत टोलीलाई लोयल्टीले ३ लाख ६१ हजार ८ सय रुपैयाँ प्रदान गर्‍यो । महिला दिवस अवसर पारेर विद्यालयले महिला सशक्तीकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप महिला फुटबलरलाई सम्मान गरेको लोयल्टीका प्रिन्सिपल बीरेन्द्र कुरुम्वाङले जानकारी दिए ।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप ५ हजार रुपैयाँ प्रदान गरेको हो । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन् । विद्यालयले सावित्रालाई ५५ हजारसहित सम्मान गर्‍यो ।

टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर, फिजियो नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही ५ हजार १ सयसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे ।

पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले सबैलाई खुसी मिलेको बताए । फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल सशक्त टोली जोर्डनसँग पेनाल्टी शुटआउटमा ५–३ ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया