काठमाडौं । नेपालीले रोजगारका लागि रोज्ने देशहरुमा सबै भन्दा पहिलो नम्बरमा यूएई रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार दोस्रो स्थानमा कतार, तेस्रोमा साउदी र चौथो स्थानमा मलेसिया रहेका छन्।

चालु आर्थीक वर्षको पहिलो ८ महिनामा युएईका लागि १ लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। यस अवधिमा कतारका लागि ९२ हजार ११४ जना, साउदी अरब जानका लागि ९१ हजार ९२९ जना र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन्।

धेरैको रोजाइमा पर्ने दक्षिण कोरियाका लागि भने ९ हजार ५५२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब ५ लाख पुगेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

यो सङ्ख्या गत आवको सो अवधिभन्दा १३ प्रतिशतले कम हो। सो अवधिमा ५ लाख ४० हजार ६ सय नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि बिदेसिएका थिए। चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन्।

विभागका अनुसार चालु आवका ८ महिनामध्ये कात्तिकबाहेक अन्य महिनामा रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि छ। कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम भएको हो। फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

तपाईको प्रतिक्रिया