काठमाडौं । साहित्यकार केदार पोखरेल ‘जफेली’ को कविता संग्रह ‘मान्छे मर्ने तलाउ’ सार्वजनिक भएको छ । यो उनको सातौँ कृति हो । सो पुस्तकको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भक्तपुरमा एक समारोहका बीच लोकार्पण गरेकी हुन् ।
कवि पोखरेलले पुस्तकमा ९० वटा छन्दबद्ध कविताहरु संग्रहित गरेका छन् । उनका अनुसार प्रत्येक पेजमा ९-९ श्लोकका कविता समावेश छन् भने नौ वटै छन्दको प्रयोग भएका छन् । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध भएका पोखरेल दोलखाका हुन् ।
पोखरेलले आफ्ना कवितमा जागिरे जीवनसहित जनकपुर, काठमाडौं र अष्ट्रेलियामा बस्दा देखे भोगेका कुराहरु समेटेका छन् । उनले सम्मान कथा संग्रह, चेप्टे भंगालो, अंशबण्डा, बाटो भत्केपछि लगायतका कृति बजारमा ल्याएका थिए । सर्लाहीबाट शिक्षण पेसा थालेका पोखरेलले काठमाडौँको बुढानीलकण्ठ, भानुभक्त मेमरियल गरी ३९ वर्ष शिक्षण सेवा गरे ।
शिक्षण पेसाबाट २०६५ मा सेवानिवृत्त भएपछि उनी साहित्य लेखनमा केन्द्रीत छन् । साहित्यकार पोखरेलले ‘मान्छे मार्ने तलाउ’मा देशमा व्याप्त बेथितिलाई कसरी समाधान गर्न सकिने भन्ने कुरालाई प्रस्तुत गर्न खोजेको बताए।