काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले पूर्णरुपले अशक्त हुने गरी अपांगता भएका व्यक्तिहरूका लागि सरकारले व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

‘अपांगता भएका व्यक्तिहरुलाई सरकारले केही हदसम्म सम्बोधन गरेको छ, तर यो पर्याप्त छैन,’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद परियारले भने, ‘भर्खरै तनहुँका पूर्ण अशक्त दिपक भण्डारीले काठमाडौंमा आएर धर्ना दिएपछि सरकारले सम्झौता गरेको छ कि पूर्ण अशक्त तथा पूर्ण अपांगता भएका व्यक्तिहरूलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने भनेको छ । तर दुई हप्ता बित्दासम्म सम्झौताबमोजिमको कार्यविधि तयार भइसकेको छैन । यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन माग गर्दछु ।’

उनले त्यसबारे महिला तथा बालबालिका मन्त्रालयले लिएको कदम सकारात्मक रहेको भन्दै संविधानबमोजिम अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद परियारले संघीयता कार्यान्वयनमा गएपनि प्रदेश सरकारहरुले राम्रोसँग काम गर्न नसकेको बताए ।

‘हामीले प्रदेश सरकारहरुलाई काम गर्न दिएका छैनौँ । भर्खरै स्थापना गरेको प्रदेशलाई अहिले नै हल्लाउने गरी राजनीतिक अभ्यासहरु नगरौँ,’ उनले भने, ‘यदि यस्तै भइरहने हो भने हामीलाई प्रदेशलाई बचाएर राख्न कठिन हुनेछ । प्रदेशको अस्तित्वमाथि प्रश्न खडा भइरहेको छ । अफ्ठ्यारो परेर जाने छ ।’

 

तपाईको प्रतिक्रिया