काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि चार वटा दस्तावेज तयार पारेको छ।
राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको पार्टीले जानकारी दिएको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरी राजनीतिक प्रतिवेदन बनाएका छन्। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि उनको दस्तावेजमा समेटिएको छ।
सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा बनाएका छन्। प्रतिवेदनमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ।
उपाध्यक्ष बेदुराम भुसालले विधान दस्तावेज बनाएका छन्। तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको उनको दस्तावेजमा छ। सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ।
महासचिव घनश्याम भुसालले तयार पारेको साङ्गठनिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने विषय लेखिएको छ।
आगामी जेठ ३ देखि ७ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुँदैछ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको छ।