काठमाडौं । कांग्रेसका सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेका छन्।
अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै मुख्यमन्त्री पदमा फर्काइदिन माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
सभामुख कृष्ण धिताललाई समेत जोडेर अधिकारीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष दाबी गरेका थिए।
यसअघि नै कोशी प्रदेशमा सभामुखको समर्थनलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरिसकेको नजिर रहेकाले भट्टले अधिकारीलाई नियुक्ति नदिने विश्वासमा पाण्डे थिए। तर सांसदको सनाखत पनि नलिइकन नै अधिकारीलाई भट्टले मुख्यमन्त्री बनाइदिएपछि पाण्डेले रिट लिएर सर्वोच्च पुगेका हुन्।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० जनाको समर्थन चाहिन्छ। अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)को समर्थन लिएर दाबी पेस गरेका थिए।
कोशीका सभामुखले हस्ताक्षर नै गरेको तर गण्डकीका सभामुखले हस्ताक्षर नगरेको, दलको तर्फबाट संख्या मात्र दाबी पेस गरिएको र विश्वासको मत लिने बेलामात्र सभामुखको मतबारे परीक्षण हुने एमाले-माओवादीको दाबी छ।