काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५० ग्राम सुन बरामद गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।
उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मात्र एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको थियो। बिहीबार बिहान रातको समयमा भारतको नयाँदिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको थियो।
उक्त सुनमा सिक्री तीन, ६ वटा सुनको बिस्कुट, दुई टुक्राका साथै दुइ वटा सिक्री जोड्ने स-साना रिङ फेला परेको छ। बरामद सुनबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।