काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक आजदेखि सुरु हुँदै छ। एमालेले झण्डै २ हजार ५ सय जना अगुवा नेता तथा कार्यकर्ताको सहभागितामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा परिषद बैठकको आयोजना गरेको हो।
एमालेले आगामी कामको दिशानिर्देश गर्नका लागि प्रतिनिधि परिषदको बैठक राखेको हो। एमालेका महासचिव शङ्कर पोखरेलले समग्र कामको समीक्षा र पार्टीलाई विकसित एमालेका रुपमा अगाडि बढाउन परिषद्को महत्वपूर्ण भूमिका रहने जानकारी दिए।
‘मुलुकको आवश्यकता र राजनीतिक स्थायित्वका साथै जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने हाम्रो विश्वास छ’, महासचिव पोखरेलको भनाइ छ।
प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन्। ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन्।
बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्नेछ। सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने सो पार्टीले जनाएको छ।
दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ। एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ।
एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ। जसअन्तर्गत बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ।
बैठकमा सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइने छ। बैठकमा हुने आन्तरिक छलफलमा डिजिटल प्रविधिको उपयोगमार्फत पारदर्शी, अन्तरक्रियात्मक र पेस हुने प्रतिवेदनहरू देशभरका संगठित सदस्यहरूले हेर्न पाउने र उनीहरूको समेत मत लिएर निर्णय गर्ने व्यवस्था गरेको एमालेले जनाएको छ। तर त्यसका लागि एमालेको एप्स डाउनलोड गरेको हुनुपर्नेछ।
यस्तै, परिषद् बैठकले मुख्यगरी दुईवटा काम गर्ने एमालेले जनाएको छ । पार्टी महाधिवेशन र विधान महाधिवेशनयताका समग्र कामको समीक्षा गर्ने र कुनै कमीकमजोरी भएको भए त्यसलाई सुधारको बाटोमा लैजाने दोस्रो महत्त्वपूर्ण काम प्रतिनिधि परिषद् बैठकले गर्ने एमालेले जनाएको छ।