जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अविलम्ब पारित गरी लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत कार्य शुभारम्भ गर्न सरकारसँग आग्रह गरेको छ ।
शनिबार सम्पन्न सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गर्दै मुक्तिको घोषणा गरिए पनि पुनःस्थापनामा ध्यान नदिएको भन्दै तत्काल सोसम्बन्धी कार्य गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
सम्मेलनले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरी अर्थ मन्त्रालयमा पठाएको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजना पारित गर्न र मुक्त हलिया, कमैया–कम्लहरी तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले नेपाल सरकारसमक्ष पेश गरेको सिफारिसको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
हरवाचरवालाई कम्तीमा १० कठ्ठा जमिन, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीन हरवाचरवालाई तीन महिना, छ महिना र लामो अवधिका सीपमूलक तालिम, एक लाखको बीउ पुँजी र आवश्यक औजार प्रदान गर्न, एकीकृत प्याकेजसहितको बहुआयामिक गरिबी निवारण कार्यक्रम लागू गर्न, केन्द्र, प्रदेश तथा स्थानीय तहलाई समन्वयात्मक ढङ्गले समस्याको हल गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेटमा स्पष्ट नीति ल्याउन माग गरिएको छ ।
सम्मेलनले जमिन तथा बसाइँको प्रमाण नभएका कारण आधाभन्दा बढी हरवाचरवा नागरिकताबाट वञ्चित भएकाले राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा तथा अवसरबाट बन्चित हुनुपरेकाले सो सम्बन्धी वैकल्पिक व्यवस्था गर्न तथा विकासका नाममा मुक्त हरवाचरवा बसोवास गर्दै आएको स्थानबाट विस्थापित गर्ने कार्य भइरहेकाले अर्को व्यवस्था नभएसम्म सोसम्बन्धी कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन जारी गर्नुपर्नेमा जोड दिएको छ ।
यसका साथै मुक्त हलिया, कमैया, कम्लहरी र हरवाचरवाका समस्याको दीगो समाधान गर्न, पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी बनाउन र बाध्यकारी श्रमलाई कानुनी पमा सदाका लागि निषेध गर्न एकीकृत बाध्यकारी श्रम निषेध ऐन आगामी संसद् अधिवेशनबाट पारित गर्न माग गरिएको छ ।
मण्डलको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति
शुक्रबार सुरू भएको सम्मेलनले दशनलाल मण्डलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागिन्द्र सदा, सचिवमा मोहमद कासीम मिया र विगनेस पासवान तथा कोषाध्यक्षमा राजवती मण्डल निर्वाचित भएका छन् ।
समितिको केन्द्रीय सदस्यमा सुमित्रा खङ्ग, गीतादेवी सदाय, तेतरीदेवी माँझी, सोनीया माझी, रामसखीदेवी खच्ने (मण्डल), ठकनीदेवी राम, अली मोहमद नदाफ, श्यामसुन्दर सदा, मधु सदा, देवेन्द्र राम, खुबलाल राम, दली माँझी, धनमन्ती राम, गोलीयादेवी राम, उपेन्द्र दाश रहेका छन् ।
बाँकी चार सदस्य कार्यसमितिले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए ।