काठमाडौं । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्। उनले हालै नेपाल आई एक करोड रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। कोषबाट प्राप्त ब्याज रकममा थप रकम संकलन गर्दै दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीको शैक्षिक अवसरका लागि सहयोग गर्ने उद्देश्य राखिएको छ। यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा ब्याज र थप रकमसहित १० लाख बराबरको सहयोग उपलब्ध गराउने सोवले बताए। नेपाल सरकारले विद्यालय तह र केही उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गरे पनि अध्ययनका लागि अन्य आवश्यक खर्च नहुँदा पढाइ पूरा गर्न नसकेको पछिल्लो स्थिति रहेकाले लक्षित वर्गलाई शिक्षामा सहयोग गर्न अक्षयकोष स्थापना गरेको समाजसेवी सोवले बताए।
‘दलित तथा सीमान्तकृत समुदायभित्र पनि अत्यावश्यक विद्यार्थीलार्ई छात्रवृत्ति दिने लक्ष्य लिएको छु,’ उनले भने, ‘निःशुल्क शिक्षा भए पनि अरू खर्चको अभावमा पढाइ छाड्ने विद्यार्थी ६७ प्रतिशत रहेछन्। यसलाई सम्बोधन गरेर जान सके मात्र शैक्षिक विकास हुन्छ।’
स्कुलले पढाइदिए पनि कापी, किताब किन्ने र खाजा खाने खर्चको अभावमा स्कुल जान नपाएका र छात्रवृत्ति पाइए पनि अन्य खर्चको कमीले पढाइलाई निरन्तरता दिन नसकेका प्रतिभाशालीहरू प्राथमिकतामा पर्ने उनले बताए।
यो वर्ष स्कुल तहका ५० जना र प्राविधिक उच्च शिक्षा तहमा १० जनालाई छात्रवृत्ति उपलब्ध गराउने तयारी भएको सोवले जानकारी दिए। आगामी पाँच वर्षभित्र कोषको रकम २ करोड पुर्याउने योेजना उनको छ।
सोवका अनुसार अक्षयकोषको नाम यकिन भइसकेको छैन। तर आफ्नो नामबाट भने नराख्ने सोचमा उनी छन्। व्यक्तिका नाममा कोषको नामकरण गर्दा अभियानमा जोडिने अरू समाजसेवीको अपनत्व नदेखिने भएकाले अरू नै नामबाट अक्षयकोषको नामकरणको निर्णय लिइएको उनले बताए।
सोवले आफूलाई अहिलेको अवस्थामा पुर्याउने जन्मभूमिलाई केही योगदान फिर्ता दिन मन लागेपछि रकम जुटाएको बताए। ‘परिवारमा सल्लाह गरें। उनीहरूले पनि कोषका लागि पैसा जम्मा गरिदिए,’ उनले भने।