काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ । आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना रहने गरी कर्मचारी नियुक्त गर्न निर्वाचन अधिकृतको कार्यालयहरुलाई सहमति दिइसकेको छ। इलाम–२ मा १४९ र बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने छ।

प्रत्येक केन्द्रमा एक एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन्। उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ। आयोगका अनुसार बझाङ उपनिर्वाचनमा खटिने कर्मचारी नियुक्त भइसकेका छन्।

तपाईको प्रतिक्रिया