काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई र संगीता चेपाङलाई प्रदान गरेको छ।

नेपाल पत्रकार महासंघको स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित फोनिज संवाद कार्यक्रममा फोजिनले राईलाई फोनिज युके पत्रकारिता सम्मान र चेपाङलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरेको हो।

सम्मान र पुरस्कारको राशी २५– २५ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सत्य तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद निरुपण हुनुपर्ने बताइन्। उनले पत्रकारहरुको साझा संस्था पत्रकार महासंघलाई एकतावद्ध भएर अघि बढाउनुपर्नेमा जोड दिइन्।

त्यस्तै फोनिजका अध्यक्ष गजुरधन राइले पत्रकारहरुलाई संगठीत गरेर पहिलो पटक पत्रकार संघ गठन गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै भएको इतिहासको तथ्य रहेको बताए। पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद निरुपण गर्दै वैशाख ९ गते स्थापना दिवस मनाउनुपर्ने उनले बताए। उहाले यस विषयमा पत्रकार महासंघसँग निरन्तर छलफल भएको धारणा राखे।

अध्यक्ष राइले पत्रकार महासंघका कृष्ण प्रसाद भट्टराईको पनि योगदानलाई सम्मान गर्दै विगतमा भएका त्रुटिहरु सच्याइनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया