धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । बझाङमा जन्मिएका बीके हाल धनगढी उपमहानगरपालिकाका स्थायीबासी हुन् । उनी दलित समुदायबाट योजना आयोगको उपाध्यक्ष बन्ने पहिलो व्यक्ति समेत भएका छन् ।
स्नात्तकोतरसम्मको पढाइ पूरा गरेका बीकेसँग दशकौँसम्म सामाजिक र राजनीतिक आन्दोलनमा काम गरेको अनुभव छ । विशेषत: बँधुवा मजदुर र हलिया आन्दोलनको नेतृत्व गरेका उनी अन्तरार्ष्ट्रियस्तरसम्म कहलिएका मानवअधिकारकर्मी हुन् ।
विद्यार्थी संगठनबाट २०४५ देखि राजनीति सुरु गरेका बीके नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हुन् । बीकेलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
आइतबार मुख्यमन्त्री सोडारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले आयोग पुगेर कार्यभार सम्हालेका छन् ।