तेह्रथुम । ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी धनकुटाले जितेको छ ।
आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित त्रिमोहन माविको खेल मैदानमा भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा छथर जोरपाटी धनकुटा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङलाई सडनडेथमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए ।
निर्णय लिनका लागि रोजिएको टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । जसमा ८-८ प्रहार भएको थियो । फोम्बो समाजविरुद्ध ६-५ गोलअन्तरमा धनकुटा च्याम्पियन बनेको हो ।
उपाधिसँगै धनकुटाले नगद २ लाख र रनिङ शिल्ड प्राप्त गर्यो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता फोम्बो समाजका सुशिल लिम्बू भए । उत्कृष्ट रक्षक धनकुटाका पुजन थापा,उत्कृष्ट गोलरक्षक धनकुटाकै प्रेम लिम्बू, बेस्ट फरवार्ड धनकुटाकै विशाल काफ्ले हुँदा फोम्बो समाजका अनुप सेन्दाङ सर्वोत्कृष्ट खेलाडी बने ।
उपविजेता बनेको फोम्बो समाजले नगद १ लाख ३० हजारमा चित्त बुझायो । जेठ १३ गतेदेखि भएको प्रतियोगितामा २७ टोलीको सहभागिता रहेको थियो ।