तेह्रथुम । यसवर्षको ऐतिहासिक मदन मेला सकिएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष जेठ १३ गतेदेखि आइतबारसम्म सञ्चालन भएको हो ।
यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्दै आएको इतिहास छ । त्यसबेला मेलामा वरपरका गाउँका बासिन्दा जम्मा भएर मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमहरु गर्थे । द्धन्द्धकालमा केही वर्षहरुबाहेक निरन्तर सञ्चालन भएको मेलालाई पछिल्लो समय स्थानीय सरकारले नेतृत्व गर्दै सञ्चालन गर्ने गरेको हो ।
यो वर्ष पनि मेलामा खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता, स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न कार्यक्रमसँगै आइतबार मेला सकिएको छ ।
मेलामा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस नेता सीता गुरुङ, प्रदेशसभा सदस्य एवम् माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईं सहित नेताहरुले सम्बोधन गर्दै आठराई र मदनमेलाको ऐतिहासिकताबारे चर्चा गरे ।
स्वर्गीय मदन शमशेरको स्मृतिमा उनकी श्रीमती जगदम्बाले यहाँ खानेपानीको समस्या देखेर धारा, औषधालय र अतिथि भवन स्थापना गर्न सहयोग गरेकी थिइन् । त्यसबेला उनले धारा, औषधालय र भवन सञ्चालनका लागि चलअचल सम्पत्ति समेत हस्तान्तरण गरेको बताइन्छ । त्यहीबेला देखि मदन शमशेरको स्मृतिमा मेला सञ्चालन सुरुवात भएको पाइन्छ । अतिथि भवन माओवादी केन्द्रले सशस्त्र द्धन्द्धका बेला ध्वस्त पारेका थिए भने त्यसैबेला आम्दानीका श्रोतकारुपमा रहेका जमीनहरु हडपेपछि औषधालय समेत बन्द भएको थियो ।
पछिल्लो समय सरोकारवालाहरुले मदन ट्रष्टका रुपमा रहेका सम्पत्तिको संरक्षणको प्रयास गर्दै आएका छन् । तर राज्यको कसिलो अनुगमन र नियन्त्रण नहुँदा त्यसको दुरुपयोग भएको आरोपसमेत लाग्दै आएको छ ।
किन ऐतिहासिक छ मदन मेला ?
पूर्वी नेपालको मध्यपहाडी भुगोलमा अवस्थित तेह्रथुमको ‘आठराई’ विविध कारणले चिनिएको छ, कुनै बेला शैक्षिक क्षेत्रमा अग्रणी मानिएको यो गाउँ पछिल्लो दशकको राजनीतिक वृत्तमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म गाउँ भनेर चिनियो । तर, आठराईलाई चिनाउने अनेक माध्यममध्ये यहाँको कला संस्कृति झल्काउने मदन मेला समेत हो ।
सात दशक पहिले गाउँलेहरू जम्मा भएर मेला भर्ने, पालाम गाउने र धान नाच्ने संस्कारबाट सुरू भएको यो मेला अहिले यहाँको ऐतिहासिक परिचय बनेको छ । वि.सं. २०१५ सालदेखि वर्षेनि लाग्ने मदन मेला यो वर्ष पनि चलिरहेको छ । यो आलेखमा मदन मेलाको ऐतिहासिक चिनारीलाई खोतल्ने प्रयास गरिएको छ ।
रानी जगदम्बाको सहयोगमा आठराईको केन्द्र सक्रान्तिबजारमा खानेपानीको धारा बनेको थियो, २०१५ सालमा । त्यो धाराको नाम ‘मदन धारा’ राखियो । त्यसपछि रानी जगदम्बाकै सहयोग कोषबाट सक्रान्तिबजारमा जगदम्बा औषधालय स्थापना भयो, अतिथिगृह बन्यो । र मदन मेला चल्न थाल्यो ।
पूर्वका १७ थुममध्ये आठराई एउटा थियो, यसमा साविकका १० गाविस समाहित थिए, अनि सक्रान्तिबजार त्यसको केन्द्र । तर अहिले आठराई टुक्रिएको छ । संघीयतापछि ऐतिहासिक आठराईमा पर्ने दसमध्ये सात गाउँ विकास समितिहरू समेटेर आठराई गाउँपालिका बनेको छ । खाम्लालुङ, सक्रान्तिबजार, ह्वाकु, इवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङ गाउँहरू गाउँपालिकामा समेटिएका छन् ।
तेह्रथुमको पुर्वी भेगमा रहेको आठराईमा पञ्चायत कालमा थुप्रै विकासका कामहरु भए, विशेषगरी शैक्षिक क्षेत्रमा आठराईले लामो छलाङ मारेको थियो, त्यो बेला । विंस. १९९७ तिरै पाठशाला र विद्यालयहरु खुल्न थालेका थिए यहाँ । पछि त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पससमेत यही खुल्यो, चुहानडाँडामा ।
छिमेकका सदरमुकामहरूलाई समेत पछि पार्दै आठराईले विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना गर्न सक्नुलाई त्यसबेलादेखि नै यहाँको राजनीतिक पहुँच र शैक्षिक स्तरलाई दर्शाउँछ । तर, शिक्षामा जस्तै सबै क्षेत्रमा आठराईले पहुँच पुर्याउन सकेको थिएन ।
आठराईमा मदन धारा र मदन ट्रष्टको सहयोग पुग्नुमा स्वर्गीय भानुभक्त सिटौला र सत्यमोहन जोशीको प्रमुख भूमिका छ । बि.सं. २०१४ को कुनै शनिबार काठमाडौंको पशुपतिमा चिया खाँदै गर्दा स्वर्गीय सिटौला र स्वर्गीय जोशीले लेखेको एउटा निबेदनले सक्रान्तिको मुहार परिवर्तन गर्यो ।
मदन मेलाको ऐतिहासिकता यहाँको खानेपानी विकाससँग जोडिएको छ । आठराईले हरेक वर्ष एउटा उत्सव, पर्व वा जात्राकोरुपमा मनाउने, आयोजना गर्ने मदन मेलामा स्मरण गर्ने व्यक्ति मदन शमशेर हुन् । मदन स्वर्गीय भएपछि उनको स्मृतिमा रानी जगदम्बाले आठराईमा खानेपानी पुर्वाधारकालागि गरेको सहयोग र त्यसपछि उनीबाट प्राप्त सहयोग कोषबाट आठराईको त्यति बेलाको विकासमा टेवा पुगेको देखिन्छ ।
बुढापाकाहरु रानी जगदम्बाले आठराईमा विकासको जग बसालेको टिप्पणी गर्छन् । विं.सं. २०१४ सालमै रानी जगदम्बाको सहयोगमा आठराईको केन्द्र सक्रान्तिबजारमा खानेपानीको धारा बनेको थियो, त्यो धाराको नाम मदन धारा राखियो । त्यसपछि रानी जगदम्बाकै सहयोग कोषबाट सक्रान्तिबजारमा जगदम्बा औषधालय स्थापना भयो, अतिथिगृह बन्यो । र मदन मेला चल्न थाल्यो ।
मदन धारा सञ्चालक समितिमासमेत आवद्ध रहेका ओमकृष्ण सिटौला भन्छन्- आठराईमा मदन धारा र मदन ट्रष्टको सहयोग पुग्नुमा स्वर्गीय भानुभक्त सिटौला र सत्यमोहन जोशीको प्रमुख भूमिका छ । उनका अनुसार बि.सं. २०१४ को कुनै शनिबार काठमाडौंको पशुपतिमा चिया खाँदै गर्दा स्वर्गीय सिटौला र स्वर्गीय जोशीले लेखेको एउटा निबेदनले सक्रान्तिको मुहार परिवर्तन गर्यो ।
साहित्यकार जोशीले दानप्रिय रानी जगदम्बाकुमारी देवीलाई भानुभक्त सिटौलाको तर्फबाट स्कूल, बजार रहेको सक्रान्तिमा पानीको अभावबाट मुक्ति पाउन लेखिएको दर्दपुणर् त्यो निबेदनले रानी जगदम्बाको हृदय छोएको थियो । निबेदन पाएको तुरुन्तै सिटौलालाई बोलाएर सबै कुरा सुनेपछि रानी जगदम्बाले सोही दिन नै स्वर्गीय मदन शमशेरको नाममा मदन धारा रहने गरी आवश्यक सहयोगको प्रबन्ध गरेकी थिइन् ।
त्यसबेला कलकत्ताबाट धारा निर्माणका सामानहरु ल्याइएको थियो । पाइप, सिमेन्टजस्ता सामान खरिद गरी धरानबाट ८/१० दिन लगाएर आठराई पुर्याइएको थियो । र, साम्थाङको पानी सक्रान्तिबजार पुर्याइएको थियो । स्थानीयस्तरमा यस कार्यलाई सफल पार्न खटिएका तत्कालिन मदन धाराका सचिव जनार्दन सिटौला, लक्ष्मीप्रसाद बिमली, मकरानन्द सुब्बा, त्रिमोहन माबिका शिक्षक विद्यार्थी, बजारका बासिन्दाहरु खटिएका थिए । सिटौलाले भन्छन्, ‘त्यसबेला व्यक्तिगत लगानीमा पानीको व्यवस्था भएको सायद यो नै पहिलो योजना थियो होला ।’
सक्रान्तिबजारमा धारा बन्यो । तर, रानी जगदम्बा आफैँ उपस्थित भएर धाराको समुद्घाटन गर्न सकिनन् । धाराको उद्घाटन रानी जगदम्बाका सचिव कमलमणि दिक्षितले गरेका थिए । त्यसबेला भानुभक्त र बासुदेव लुइँटेललाई साथ लिएर कमलमणि दिक्षित सक्रान्ति पुगे । २०१५ साल बैसाख १० गते मंगलबार अक्षय तृतीयाको दिन सक्रान्ति बजारमा तीन वटा धारा सञ्चालनमा आएका थिए ।
२०१५ देखि निरन्तर चलिरहेको मेला माओवादीले गरेको शशस्त्र द्धन्द्धका बेला भने रोकियो । त्यसबेला करिब ११ वर्ष रोकिएको बाहेक सक्रान्तिबजारमा वर्षेनि मदन मेला सञ्चालन हुँदै आएको छ ।
त्यससमयदेखि आफ्नो जीवन पर्यन्त कमलमणि दिक्षित र भानुभक्त सिटौला सक्रान्तिमा पानी, औषधालय र अतिथि भवनको निमित्त लागेका थिए । ‘तीन वटा सार्बजनिक धाराबाट सुरु गरिएको पानी हाल आएर करिब २०० वटा व्यक्तिगत घरमा धारा जडान गरिएको छ, र दुखः सुख पानी उपलब्ध हुदै आएको छ,’ सिटौला भन्छन् ।
त्यहीबेला देखि सक्रान्तिबजारमा मदन मेला समेत लगाउन थालियो । मेला स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यममात्रै बनेनँ, यहाँको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत मेलाले भूमिका खेल्यो । पछि मेलामा खेलकूद पनि जोडियो । फुटबल, भलिबल लगायत दर्जनौँ खेल र सांस्कृतिक कार्यक्रमहरू हुन थाले ।
पालाम, हाक्पारे, धाननाच जस्ता लिम्बू संस्कृतिको त केन्द्र नै थियो, मदन मेला । यहाँको सांस्कृतिक विविधता मदन मेलामा देख्न पाइन्थ्यो ।२०१५ देखि निरन्तर चलिरहेको मेला माओवादीले गरेको शशस्त्र द्धन्द्धका बेला भने रोकियो । त्यसबेला करिब ११ वर्ष रोकिएको बाहेक सक्रान्तिबजारमा वर्षेनि मदन मेला सञ्चालन हुँदै आएको छ ।
सबै तस्बिर : सामाजिक सञ्जाल ।