काठमाडौं । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबा ७० वर्षीय रामबहादुर साम्रा, कान्छीआमा ५० वर्षीया जसमाया लिवाङ र नौ वर्षीया बहिनीहरू गंगा र जमुनाको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए।
वडाध्यक्ष चौलागाईंका अनुसार बिहीबार राति १:३० बजेतिर उनीहरू सुतिरहेको समयमा पहिरो गएको थियो। उपाध्यक्ष लिम्बू भने गाउँमै रहेको अर्को घरमा बस्दै आएका थिए।
पहिरोले उनीहरूले पालेको ५० वटा बाख्रा र ३० वटा कुखुरा पनि बगाएको छ।
खेजेनिमकै गढिडाँडामा पहिरोले स्थानीय ४० वर्षीय युगेन साम्राको घर पुर्दा उनी र उनकी तीन वर्षीया छोरी घाइते भएका छन्। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष चौलागाईंले बताए।
फक्ताङलुङ गाउँपालिकामा विगत तीन दिनखेखि नै अविरल वर्षा भइरहेको उनले बताए।