काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेट विनियोजन मा विभेद गरेको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठको आकस्मिक समयमा बोल्दै सांसद शाहीले यस्तो बजेटमा विभेद गरिएको भन्दै कर्णालीलाई अपमान गरिएको बताए।

‘तपाईं (भौत्तिक पूर्वाधारमन्त्री) धनुषा र झापाको मन्त्री हो कि नेपालको?,’ उनले मन्त्री महासेठलाई प्रश्न गरे। आफूले डाटासहित बोलेको बताउँदै उनले नेपालको मन्त्रीले कर्णालीलाई विभेद गर्न नहुने बताए।

‘मसँग डाटा छ, हावामा बोलेको छैन। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस्। यो कर्णालीबाट आएको भाषा हो । धनुषाको ३ र ४ नम्बर क्षेत्रमा भौतिक मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख र झापामा ६ अर्ब ७० करोड गरेको छ,’ उनले भने, ‘टोटल गरेर १५ अर्ब ४७ करोड ४९ लाख झापा र धनुषामा विनियोजन गर्नुभएको छ। तर, कर्णालीको १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै!’

सांसद शाहीले विगतमा एमाले र माओवादीको लालकिल्ला रहेको कर्णाली बजेट र योजनाको अभावमा पछाडि परेको भन्दै विभेद कायम रहे क्षत्रीय दल जन्मिने चेतावनी दिए।

उनले कर्णालीलाई विभेद गरिएको भन्दै गीतमा पनि गाए– ‘कर्णाली पारी, छैन खेत बारी, कर्णाली झम तारा झमझम ।’

तपाईको प्रतिक्रिया