काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नयाँ सरकार गठन हुने भएपछि मन्त्री मण्डलका बारमो पनि अनेकन् अड्कलबाजी गर्न थालिएका छ। भोली शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने तयारी गरेका छन्। एक रातमा कुनै नयाँ उथलपुथल भएन भने प्रधानमन्त्रीले विश्वासको मत पाउने छैनन्।
मिलेर सरकार बनाउने भएपछि कांग्रेसमा सरकारमा को जाने भन्ने विषयले ठाउँ पाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भएकालेल कांग्रेस सभापति शेरबहादुर देउवा बाहेक सबै सरकारमा जान सक्नेछन्। तर, देउवाले यसपटक गुटभन्दा माथि उठेर मन्त्रीहरु सरकारमा पठाउने भन्ने विषय पनि उत्तिकै चर्चामा रहेको छ।
कांग्रेसमा पुरानालाई रोकेर नयाँ अनुहार सरकारमा पठाउ उपप्रधानमन्त्री नराख्ने विषयमा पनि शीर्ष दुई नेताबीच छलफल भएको बुझिएको छ। पुराना अनुसार नदोहोरिने भएपछि कांग्रेस महामन्त्री गगन कुमार थापा यसपटक मन्त्रीमा देखिने छैनन्। बरु विश्वप्रकाश शर्माले अवसर पाउने छन्।
‘मन्त्री हुन आकांक्षी धेरै देखिएका छन् त्यो स्वाभाविक पनि हो। तर, अधिकांश नयाँ पठाउने भन्ने कुरामा भएको छ। यसभन्दा अघिको क्याबिनेटबाट निस्केकाहरू यो पटक पर्दैनन्,’ नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले भने ।
उनले मन्त्रीको आकांक्षी धेरै भएकाले अहिले नै को मन्त्री हुन्छन् भन्नेसक्ने अवस्था नरहेको बताए। पार्टीभित्र धेरै विवाद नल्याउनेगरी सबैलाई समेटेर मन्त्री पठाउने मुडमा सभापति देखिएको नेताहरुको बुझाइ छ। दुई–तीनचोटी चुनाव जितेर अवसर नपाएकाहरुलाई सभापतिले यो पटक अवसर दिने तयारी गरेको नेताहरु बताउँछन्।
उपप्रधानमन्त्री नराख्ने सहमति भए कांग्रेसबाट गृहमन्त्रालय लिएर प्रमुख सचेतकसमेत रहेका रमेश लेखकको सम्भावना बलियो छ। उपप्रधान पाए प्रकाशमान सिंह, शशांक कोइरालाले पनि सरकारमा जाने इच्छा व्यक्त गरिरहेका छन्।
कांग्रेस वृत्तमा महामन्त्री गगन थापाको नेतृत्वमा सरकार जाने चर्चा चलेपनि थापा आफैंले विश्वप्रकाश शर्मा वा प्रदीप पौडेललाई मन्त्री बनाउन देउवासमक्ष सिफारिस गर्दैछन्।
कांग्रेसबाट डा। आरजु राणा देउवा यसपटक सरकारमा जाने सम्भावना छ। त्यस्तै उदयशमशेर जबरा पनि प्रमुख दाबेदार हुन्। यीबाहेक संस्थापनबाट विनोद चौधरी, किशोरसिंह राठोर, शंकर भण्डारी, रामहरि खतिवडा, अजय चौरसिया, श्याम घिमिरेलगायतको लबिङ बलियो छ।
शेखर–गगन पक्षबाट अर्जुननरसिंह केसी, जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी, राजेन्द्र बजगाईँ, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादवमध्येबाट मन्त्रीको लिष्टमा छन्। शशांक कोइराला सरकारमा नगएको अवस्थामा उनको कोटाबाट मन्त्री बन्न दीपक गिरी र दीपक खड्का दाबेदार छन्।
एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ। मन्त्रायल भागबण्डामा दुई दलबीच धेरै विवाद नरहेको नेताहरुको दाबी छ।
गृह र परराष्ट्र कांग्रेसले लिने र अर्थ र सञ्चार एमालेले लिने सहमति भइसकेको नेताहरु दाबी गर्छन्। मन्त्रालय टुंग्याउन रमेश लेखक र शंकर पोखरेलले जिम्मेवारी लिएका छन्।
भौतिक पूर्वाधार र ऊर्जा एउटा पार्टीले लिए, शहरी विकास र स्वास्थ्यमा अर्को पार्टीले लिने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ।