काठमाडौँ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको भन्दै कारबाही गर्न माग गरिएको हो।

नेपाली नागरिक रहबर अन्सारीको नामबाट परेको उजुरीमा, ‘आफू स्वयंले आफ्नो पदको मर्यादा नराखी भ्रष्टाचारजन्य कसुर गर्नु भएको छ। सरकारलाई समर्थन दिनुभएको र सरकारले नै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने सङ्कल्प गरेको परिवेशमा आफ्नो काम चाँडो गराउनका लागि घुस दिएको स्वीकार्नु भएको छ,’ भनिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ रिसवत लिने दिनेलाई सजाय हुने भन्ने व्यवस्थाको उपदफा ३ मा उल्लेख छ। जसले गर्दा घुस रिसवत दिने कार्यलाई रोक्नुपर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेको हुँदा उनलाई कानुन बमोजिम काम गर्न माग गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र नपर्ने उक्त कार्य र संसद्‌मा अभिलिखित रहेको अभिव्यक्ति भ्रष्टाचारजन्य रहेकोले राज्यले हदैसम्मको कारबाही गर्नुपर्ने उजुरीकर्ताको दाबी छ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले गत आइतबार संसद्को बैठकमा छोराको कक्षा १० र १२ को समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए।

उक्त अभिव्यक्तिपछि शिक्षा मन्त्रालयले छानबिन समिति नै गठन गरिसकेको छ। गृह मन्त्रालयले समेत यो विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ।

तपाईको प्रतिक्रिया