काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
तेह्रथुमको पिप्लेमा जन्मिएर ०५२ सालमा निजामति सेवा प्रवेश गरेकी गड्तौलाले जागिरे जीवनको आखिरी समयमा मुख्य सचिवको जिम्मेवारी मात्रै पाएकी छैनन्, पहिलो महिला मुख्यसचिव बनेर नेपालको प्रशासनिक क्षेत्रमा कहिल्यै नमेटिने इतिहास समेत बनाएकी छन् । गड्तौलालाई वर्तमान सरकार गठन हुनेबित्तिकै कायम मुकायम मुख्य सचिव बनाइएको थियो ।
उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । २०२३ साल भदौ १५ मा तेह्रथुमको म्याङलुङ नगरपालिका, तत्कालीन पिप्ले गाविसमा जन्मिएकी उनको हालको ठेगाना सोलुखुम्बु हो ।
२०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी उनले निजामति सेवामै करिब तीन दशक बिताइसकेकी छन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।
शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेकी हुन् । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका थिए । उनलाई राष्ट्रिय योजना आयोगमा अतिरिक्त पद सिर्जना गरी जिम्मेवारीमुक्त गरेसँगै मुख्यसचिवको निमित्त जिम्मेवारी गड्तौलालाई दिइएको थियो।
पितृसत्तामा आधारित नेपालको राज्य संरचनामा जताततै महिलाको उपस्थिति कमजोर छ । अहिलेसम्म नेपालको प्रधानमन्त्री महिला बनेका छैनन् । हरेक पटक मन्त्रिपरिषद् गठन हुँदा महिलाको प्रतिनिधित्व कमजोर भएको भन्दै आलोचना हुने गरेको छ ।
तर प्रधानन्यायाधीश, राष्ट्रपति र सभामुखपछि अब मुख्यसचिवमा पनि महिलाको नेतृत्व आएको छ । यसअघि विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनिन् भने सुशिला कार्की पहिलो प्रधानन्यायाधीश बनिन् । त्यस्तै, ओनसरी घर्ती पहिलो महिला सभामुख बनेकी थिइन् ।