काठमाडौं । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले १८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेपनि औपचारिकरुपमा भने नाम सार्वजनिक भएको छैन । सार्वजनिक भएका विवरणअनुसार असमावेशी मन्त्त्रिपरिषद् बनाएको आरोप झेलेका कांग्रेस-एमालेले राजदूत सिफारिसमा पनि समावेशितालाई ध्यान दिएनन् ।
दलित, मधेशी, थारु, मुस्लिम समुदायको न्यूनतम प्रतिनिधित्व समेत गराइएको छैन भने महिलाको संख्या समेत न्यून छ । संविधानले राज्यका हरेक निकायमा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य गरेको छ । तर सरकारले संविधानको बाध्यकारी उक्त व्यवस्थाको समेत पालना गरेको छैन ।
सिफारिस भएकामध्ये अधिकांश खसआर्य समुदायका मात्रै छन् । सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ। मन्त्रिपरिषद्ले माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका सबै राजदूत पनि फिर्ता बोलाएर कांग्रेस -एमालेबाट भागबण्डा गरेर राजदूत नियुक्तिको सिफारिस गरेका हुन्।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्र घिमिरे र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलगायतको नाम मन्त्रिपरिषद्ले सिफारिस गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारतका लागि राजदूत शर्मालाई निरन्तरता दिने निर्णय भएको छ।
यसअघि अघिल्लो सरकारले रेग्मीलाई भारतका लागि, घिमिरेलाई अमेरिकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले भारतका लागि राजदूत शर्माबाहेक अन्य राजदूतहरू फिर्ता गर्ने अघिल्लो सरकारको निर्णयलाई सदर गरेको हो । चीनका लागि राजदूत प्रस्तावित ओली राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष हुन्। अमेरिकाका लागि सिफारिस रेग्मी पूर्वमुख्यसचिव हुन् भने बेलायतका लागि सिफारिस घिमिरे पूर्वसचिव हुन्।
दक्षिण कोरियाका लागि सिफारिस तुम्बाहाम्फे पूर्वमन्त्री एवं पूर्वउपसभामुख हुन् । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार जर्मनीका लागि शैल रूपाखेती, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित, साउदी अरबका लागि नरेशविक्रम ढकाल, अस्ट्रेलियाका लागि कान्ता रिजाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल र स्पेनका लागि सनिल नेपालको नाम सिफारिस भएको छ ।
सरकारले मलेसियाका लागि नेत्र तिमिल्सिना, श्रीलंकामा रामकृष्ण भट्टराईलाई राजदूतमा सिफारिस गरेको छ।