काठमाडौं । दलित महिला संघ, नेपाल (फेडो)ले स्थापनाको तीन दशक पूरा गरेको छ । दलित महिलाको सबै किसिमको हक अधिकार, न्याय र सर्वाङ्गिण विकासका लागि काम गर्ने उद्देश्यले २०५१ सालमा स्थापना भएको संस्थाले मंगलबार आफ्नो ३० औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

संघको नेतृत्वमा अघि बढेको दलित महिला आन्दोलनले संरचनागत विभेदको चपेटामा परेर चुलाचौकामा मात्रै सीमित रहेका दलित महिलाहरूलाई वडादेखि सदनसम्म नेतृत्वमा पुर्‍याउन सहयोग गरेको छ । संघको ३० औँ वार्षिकोत्सवको सन्दर्भमा मंगलबार सरोकारवालाले संघका संस्थापक र अभियन्ताहरुलाई बधाई ज्ञापन गरेका छन् ।

संघले ३० वर्षसम्म चलाएको सामाजिक अभियानको समीक्षा गर्दै उपलब्धिहरुको समीक्षा समेत गरेको छ । मंगलबार ललितपुरको कुपण्डोलमा संघले गरेको विशेष समारोहमा संघीय सांसद, संवैधानिक आयोगका पदाधिकारीहरु, वैदेशिक नियोग र दातृ संस्थाका प्रतिनिधिहरु, संघसंस्था, मानव अधिकारवादी र अधिकारकर्मीहरु सहभागी थिए ।

सभालाई सम्बोधन गर्दै संघकी संस्थापक अध्यक्ष दुर्गा सोबले तीस वर्षको संघर्षपूर्ण यात्रा पूरा गरेको भन्दै खुसी बाँडिन् । ‘यहाँसम्मको यात्रा वास्तवमै सहज थिएन, तर तपाईहरुको सहयोग र सहकार्यले दलित महिलाहरूको आवाजलाई मुलधारमा जोड्न मद्दत पुगेको छ, अब दलित महिलाहरुको आवाज मुलधारकै महिला आन्दोलनको एउटा हिस्सेदार बन्न पुगेको छ,’ संस्थापक अध्यक्ष सोबले भनिन्, ‘संघले जति गर्नुपर्ने त्यति नगरेको हुन सक्छ । गर्नुपर्ने अझै धेरै बाँकी नै छ । तर हामीले बाटो तयार गरेका छौँ । दलित महिलाहरुलाई चुलोचौकादेखि सडक र सदनसम्म उपस्थित गराउन सफल भएका छौँ ।’

उनले दलित महिलाको सशक्तिकरणको आन्दोलन बल्ल सुरुवात भएको बताइन् । आफू डोटीमा जन्मिएर विभेदविरुद्ध संघर्ष गर्दै काठमाडौंमा आएर संगठित हुँदाको पल सम्झिएर भावुक बनेकी सोबले दलित महिलाका लागि अहिले पनि समाजसँग गरिरहेको संघर्ष सजिलो नभएको बताइन् ।

‘म जन्मिँदा घरमा छोरी जन्मियो भनेर आमामाथि दबाब भयो । मलाई आमाले तीन दिनसम्म दुध नखुवाउनुभएको रहेछ । त्यो लैंगिक विभेद थियो, त्यसपछि ममाथि जातीय विभेद पनि खप्टियो । डोटीको सिलगढीबाट काठमाडौं आएर एउटा संस्था खडा गरेर दलित महिलाहरुको नेतृत्व गरेर सामाजिक आन्दोलन हाँक्ने कुरा मेरालागि पक्कै सामान्य थिएन, तर यो तपाईहरु सबैको साथले सम्भव भएको छ,’ उनले भनिन्, ‘त्यतिबेला भन्दा अहिले केही सहज अवश्य भएको छ । तर समाजमा अझैपनि लैंगिक समानता छैन । जातीय विभेदको अन्त्य भएको छैन । दलित महिलामाथि अहिले पनि दोहोरो तेहोरो विभेद छ । अन्याय छ । अत्याचार छ । त्योभन्दा बढी गरिबीले सबैभन्दा बढी पिल्साएको छ ।’

उनले दलित महिलाहरुको आर्थिक सशक्तिकरण नभएसम्म सशक्तिकरण हुन नसक्ने अवस्था रहेको बताइन् । ‘जबसम्म महिलालाई आर्थिकरुपमा सशक्त बनाउन सक्दैनौँ, तबसम्म उनीहरुको अधिकार सुनिश्चित हुन सक्दैन भनेर हामीले दलित महिलाको आर्थिक उन्नतिका लागि, आत्मनिर्भर बनाउनका लागि काम गरेका छौँ,’ उनले भनिन्, ‘हामीले थुप्रै महिलाहरुलाई आत्मनिर्भर बनाउन सकेका छौँ । अझै धेरै महिलाहरुलाई आत्मनिर्भर बनाउन तपाईहरु सबैको सहयोगको अपेक्षा राख्दछौँ ।’
संघले ३० औँ वार्षिकोत्सवको सन्दर्भमा संस्थाले हालसम्म गरेका गतिविधिबाट ३० माइलस्टोन उपलब्धिहरु हासिल गरेको दाबी गरेको छ ।

‘अहिले ५६ जिल्लामा दलित महिला संघका जिल्ला शाखा गठन भएका छन् । ७७ वटै जिल्ला फोकल पर्सनहरु छन् । सात प्रदेशमा समन्वय समिति बनेका छन्,’ संघकी अध्यक्ष कला स्वर्णकारले भनिन्, ‘हाम्रो अभियानमा जोडिएर नेतृत्व क्षमता विकास गरेका महिला नेताहरु कोही पार्टीमा अहोदामा हुनुहुन्छ, केही कानून निर्माण गर्ने तहमा पुग्नुभएको छ भने वडामा निर्वाचित दलित महिला सदस्यमा निर्वाचित २५ प्रतिशत सदस्यहरु हाम्रै सदस्य हुनुहुन्छ ।’

May be an image of 6 people, jewelry and text

संघले ०५८ सालमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश लगायत जातीय छुवाछुत र भेदभावविरु४ संगठित अभियान चलाएको घटनालाई स्मरण गराएको छ भने दलित महिलाको सामाजिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि सञ्चालित क्षमता विकासका कार्यक्रमबाट अहिलेसम्म करिब ८८ हजार महिलाहरु लाभान्वित भएको दाबी गरेको छ ।

संघले हाल स्थानीयस्तरमा ११७५ जना महिलाहरुलाई अगुवा अभियन्ताकोरुपमा खडा गरेको छ, जसले मानव अधिकार, न्याय र समानताका लागि अभियानको नेतृत्व गर्ने गरेका छन् । हालसम्म १४ हजार भन्दा बढीलाई सीप विकास तालिम, ६ सयभन्दा बढीलाई साना व्यवसाय र उद्यम सुरु गर्न सहयोग पु¥याएको संघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया