काठमाडौं । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणाविरुद्ध हातखुट्टामा नेल लगाएर माइतीघरमा विरोध प्रर्दशन सुरु भएको छ । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बुधबारदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन् । संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।
गणतन्त्र नेपालमा समेत संविधानविपरीत राज्यका हरेक निकायमा दलित समुदायको प्रतिनिधित्वलाई ख्याल नगरिएको भन्दै युवाहरुले आन्दोलन थालेका हुन् ।
अभियानका संयोजक सुनारले राजनीतिक दलहरु र सरकारले मन्त्रिपरिषद् गठन र राजनीतिक नियुक्तिमा दलित समुदायमाथि घृणाभाव देखाएकोप्रति आपत्ति जनाए । ‘दलित समुदाय राजनीतिक रुपमा प्रतिनिधित्वविहीन भएको छ । संविधानले दलित समुदायको समानुपातिक प्रतिनिधित्व र समावेशीताको सुनिश्चितता गरेपनि दल र सरकारले त्यसको पालना गरेनन्,’ उनले भने, ‘दलित समुदायमाथि भएको यो अन्याय र घृणाको विरुद्ध अब हरेक जागरुक युवाले बोल्नुपर्छ ।’
उनले वर्तमान कांग्रेस-एमालेसहितको केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले देखाएको दलित समुदायमाथिको घृणाविरुद्ध नेल लगाएर धर्ना सुरु गरिएको र आफूहरुको मागको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
उनले भने, ‘करिव १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायको उपेक्षा गर्दै सरकार गठन र राजनीतिक नियुक्ति भयो । यो हाम्रो संविधान, समानुपातिक समावेशी व्यवस्था तथा दलित समुदायको हकको विरुद्धको कार्य हो । यसलाई तत्काल दल र सरकारले सच्याउनुपर्छ ।’