काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका पूर्वमहामन्त्री तथा पूर्वप्रवक्ता डा मुकुल ढकाललाई साधारण सदस्यबाट बर्खास्त गर्ने तयारी गरेको छ।उनीलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय गर्नका लागि सभापति रवि लामिछानेले बोलाएको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय समितिमा सुरु भएको छ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा ढकालमाथि गर्ने अनुशासनको कारबाहीका विषयमा छलफल हुनेछ।यसअघि रास्वपाले महामन्त्री र प्रवक्ता तथा केन्द्रीय सदस्यबाट बर्खास्त गरेको थियो।तर पार्टी सभापति लामिछानेमाथि ढकालले राजनीतिक आक्रमण गर्न बन्द नगरेपछि र उनलाई साधारण सदस्यबाटै बर्खास्त गर्ने तयारी गरेका हुन्।

साधारण सदस्यबाट बर्खास्तीको निर्णय लिनुअघि ढकाललाई स्पष्टीकरण पनि सोधिएको थियो। रास्वपाका अनुसार यो स्पष्टीकरण ढकालका लागि अन्तिम मौका थियो।तर उनले दिएको पछिल्लो स्पष्टीकरणमा पनि लामिछानेमाथि आक्रमण गरिएको र पार्टीलाई बुझाउनुपर्ने स्पष्टीकरण सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेपछि लामिछाने थप आक्रोशित बनेका छन्।

ढकालले पार्टी सभापति रवि लामिछानेमाथि ठगी र भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सभापति लामिछानेबारे गम्भीर प्रश्न उठाउँदै उनले सभापतिका कमी–कमजोरीमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभई शुद्धीकरणको प्रयास भएको बताएका छन्।

‘तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफ उनले सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ। भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ। राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न।’

बैठकमा स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधिका विषयमा पनि छलफल गरिने झाको भनाइ छ। पार्टीका आधारभूत संगठन बलियो बनाउन रास्वपाले स्थानीय तहमा छाँया सरकार बनाउन लागेको हो।

तपाईको प्रतिक्रिया