चितवन । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रमा गुणस्तरीयता र विद्यार्थीहरुको समस्या समाधानको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार नेविसंघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसद्वारा आयोजित अध्ययनरत, आगन्तुक विद्यार्थीहरुको स्वागत, बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले विद्यार्थीहरुको हरेक सुखदुःखमा आफूले साथ दिने प्रतिबद्धता गरेका हुन् ।
‘रामपुर क्याम्पस भनेको ऐतिहासिक क्याम्पस हो । यसको आफ्नै इतिहास छ । यस क्याम्पसका विद्यार्थीहरुले कृषि क्षेत्रमा केही गर्छ भनेर स्थापना भएको थियो । तर, निति निर्माण तह र राज्यबाट क्याम्पस र विद्यार्थीको बारेमा गहिरो चिन्तन नगरिदिएको भएर तपाईं विद्यार्थी भाईबहिनीहरुले केही समस्या भोग्नु परेको कुरा मलाई थाहा छ ।’ कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले भने, ‘म पनि स्वयम विद्यार्थी राजनीतिबाट आएको मान्छे हुँ । मलाई विद्यार्थीहरुको भोग्नु परेको समस्याबारे पत्तो छ । संघीयता आएपछि तीन तहको सरकार हुँदा पनि तपाईंहरुको समस्या समाधान नहुनुमा विडम्बना छ । तर, शिक्षाक्षेत्र र विद्यार्थीहरुको लागि बागमती प्रदेश सरकारले सकेको गर्ने कुराको विश्वास म हजुरहरुलाई दिलाउन चाहन्छु’
नेविसंघ नेविसंघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसका इकाई सभापति हिमाल साउँदको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री काफ्लेको प्रमुख आतिथ्यतासँगै क्याम्पसका प्रमुख, प्राध्यापक र विद्यार्थीहरुको लगायतको सहभागीता रहेको थियो ।