काठमाडौं । दलित समुदायलाई संविधान र कानूनले सुनिश्चित गरेका अधिकारहरू समेत सरकारले नदिएको विरोधमा ‘दलितलाई खै ?’ भन्दै विरोध प्रदर्शनमा रहेका अभियन्ता खगेन्द्र सुनारले शनिबार नेल खोलेका छन् ।
४५ दिनसम्म माइतीघरमा शरीरमा नेल लगाएर उभिएर दबाब आन्दोलन गरेका उनले शनिबार अन्तरजातीय प्रेम र विवाहका कारण ज्यान गुमाएका अजित मिजार र नवराज विकका आमाहरूको हातबाट नेल खोले । खगेन्द्रले ४५ दिनसम्म प्रदर्शनको क्रममा साथ सहयोग र माया दर्शाउने सबैप्रति आभार प्रकट गरेका छन् ।
उनले थप सशक्त आन्दोलनको तयारी भइरहेको र आगामी दिनमा समेत थप जागरण र दबाबमुलक दुवै खाले कार्यक्रमहरू लिएर आउने बताए ।
मुलुकको १५ प्रतिशत जनसंख्या भएको समुदायले राज्यका सबै निकायहरूबाट बाहिर राखेर निरन्तर अपमान, विभेद र उत्पीडनमा राखिएकोमा विरोध गरिरहेका उनले अब दलितहरूले पनि न्याय र समानताको अनुभूति गर्ने दिन आउने बताए । उनले त्यसका लागि दलितले आफ्नो लागि आफैँ संघर्ष गर्न तयार हुनुपर्ने अवस्था रहेको बताए ।