काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेमा सवारी चालकलाई ई-चलान (डिजिटल चिट) दिने प्रणालीको सुरूवात गरिएको छ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजवा गरिएको एक कार्यक्रमबीच नयां प्रणालीको उद्घाटन गरिएको हो।

यसरी जारी भएको चीटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेट मार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक प्रहरीले जनाएको छ।

पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लंघन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन्।

लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ। यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया