काठमाडौं । विराज खड्काले निर्देशन गर्ने फिल्म ‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित भएका छन् । यसअघि ‘लभ स्टेसन’, ‘साङ्लो’ र ‘रावायण’मा देखिएका उनी यसमा पनि देखिन लागेका हुन् ।
अभिनयमा विविधता दिंदै आइरहेका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ । फिल्ममा शाहले पोजेटिभ वा नेगेटिभ कुन भूमिका गर्ने भन्ने कुरा निर्माताले खुलाएका छैनन् ।
सार्वजनिक पोस्टरमा उनलाई ‘एङ्ग्री’ लुक्समा देख्न सकिन्छ । पोस्टरमा उनी सिगार पिउँदैछिन् । पृष्ठभूमिमा जंगल, हात्तीको बंगारा र सुँढ देख्न सकिन्छ । पोस्टरमा चित्रित दृश्यले फिल्म क्राइम थ्रिलर जनरामा बन्न लागेको भन्ने संकेत गर्छ ।
यसअघि प्रदीप चौधरीको फस्टलुक सार्वजनिक गरेको निर्माण टिमले कलाकारको समग्र कास्टिङ लाइनअप सार्वजनिक गरेको छैन । ‘सत्यवीर’को निर्मातामा आदेश सुब्बा छन् । डिसेम्बरदेखि छायांकन तयारी छ ।
दशकदेखि भीएफएक्समा सक्रिय खड्काले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले नेपालमा ‘प्रेमगीत ३’, बाँबरी’, ‘काँडेतार’ लगायतका दर्जनौं फिल्ममा भीएफएक्स सुपरभाइजरको काम गरेका छन् ।
खड्काले यो फिल्ममा ४० प्रतिशत दृश्य भीएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन गरिनेछ । ‘सत्यवीर’को कथालाई प्रदीप चौधरीले लेखेका हुन् । साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकार नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए ।