तेह्रथुम । टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ ।
मेन्छ्यायेम गाउँपालिकास्थित गौखुरी माविमा विद्यालय नर्सकारुपमा कार्यरत शिक्षिका अन्दाजी २५ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा अध्ययनरत छात्रा अन्दाजी १३ वर्षीया सुस्मिता भट्टराईको शनिबार खोरुंगा खोलामा टिकटक बनाउने क्रममा लडेर ज्यान गएको हो ।
विराटनगरकी राजवंशी यहाँ शनिबार बिदाको दिन सुस्मितालाई लिएर खोरुंगा खोला पुगेकी थिइन् । दिउँसो करिब साढे दुई बजे खोरुंगा खोला हाइड्रोपावरनजिकै उनीहरू टिकटक बनाइरहेका थिए । तर अकस्मात् लड्दा खोलामा झरेका उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी मोराहाङका असई नेत्र बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार टिकटक बनाइरहेका उनीहरू खोलामा खसेको देखेपछि हाइड्रोपावरका कर्मचारी रविन भट्टराईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव संकलन गरिसकेको असई बाँस्तोलाले बताए । उनीहरूको शव आइतबार पोष्टमार्टमका लागि लैजाने तयारी रहेको छ ।