काठमाडौ । २७ वर्षदेखि टेलिभिजन क्षेत्रमा निरन्तर क्रियाशील सुरेश पौडेल एपिवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (CEO) बनेका छन्।
पछिल्लो समय क्रिएटिभ डाइरेक्टरको भूमिकामा रहेका पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपिवानको नयाँ सीईओका रूपमा चयन गरेको हो। यस अवसरमा नेटवर्कका महाप्रबन्धक, प्रधानसम्पादक, सम्पादक, समाचार प्रमुख र स्टेशन हेडहरूले सामूहिक शुभकामना पत्रमार्फत बधाई व्यक्त गरेका छन्।
सन् १९९६ (वि.सं. २०५३) मा नेपाल टेलिभिजनबाट कार्यक्रम निर्माता भई आफ्नो मिडिया यात्रा सुरु गरेका पौडेलले २०६० देखि १० वर्षसम्म कान्तिपुर टेलिभिजनमा सिनियर प्रोड्युसर र चिफ प्रोड्युसरको भूमिका निर्वाह गरे।
त्यसपछि एपिवान टेलिभिजनमा क्रिएटिभ डाइरेक्टर बनेका उनी केही समय ग्यालेक्सी टिभीमा पनि कार्यरत रहे। अन्ततः उनी पुनः एपिवान फर्किएर यस संस्थामा लामो समयसम्म योगदान पुर्याए।
पौडेल केवल पर्दा पछाडि मात्र होइन, पर्दा अगाडि पनि सक्रिय छन्। अन्तर्वार्ता आधारित कार्यक्रमको प्रस्तोता भएर टेलिभिजनमा देखिने पौडेल सांगीतिक रियालिटी शो नेपाल आइडल का निर्देशकका रूपमा पनि लोकप्रिय छन्।
उनको पदोन्नतिसँगै टेलिभिजन क्षेत्रमा नयाँ नेतृत्वको आगमनको चर्चा चुलिएको छ।