काठमाडौँ । सरोकारवालाले पितृसत्तात्मक सोच नफेरिएसम्म लैंगिक समानता प्राप्ति असम्भव रहेको बताएका छन् । शनिवार ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।
महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको समीक्षा गर्दै शनिवार विश्वभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । नेपालमा पनि ‘महिला र बालबालिका लागि अधिकार, समानता र शसक्तिकरण’ भन्ने नारासहित सरकार र नागरिक संस्थाहरूले एकसाथ कार्यक्रम गरी दिवसलाई उत्सवकैरुपमा मनाएका छन् ।
काठमाडौँमा महिला पुन:स्थापना केन्द्र (ओरेक) नेपालसहित विभिन्न संघसंस्थाहरूले संयुक्तरुपमा सचेतनामूलक र्याली र कोणसभा तथा छलफल कार्यक्रमहरू गरेका छन् । विभिन्न ३० भन्दा बढी संघसंस्थाहरूको संयुक्त आयोजनामा शनिवार बिहान माइतीघर मण्डलादेखि भद्रकाली, न्यूरोड, बाघबजार हुँदै भृकुटीमण्डपसम्म र्याली निकालिएको थियो भने त्यसपछि र्याली कोणसभामा परिणत भएको थियो ।
कोणसभामा महिला अधिकारकर्मीहरू भगवती अधिकारी, सिर्जना दाहाल, श्यामकुमारी साह लगायतले सम्बोधन गरेका थिए । वक्ताहरूले पितृसत्तात्मक सोच नफेरिएसम्म लैंगिक समानता प्राप्ति असम्भव रहेकोमा जोड दिए । महिलाले घरभित्र गरेको श्रमको पहिचान, सम्मान र मान्यताको विषयमा कविता वाचनदेखि महिलाको श्रम अधिकारको विषयमा गीत, कविता तथा नृत्य प्रस्तुतीसम्मका कार्यक्रमहरू भए ।