तेह्रथुम। आठराई गाउँपालिकाले मदन पुरस्कार विजेता लेखक भगिराज इङनामलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाको वडा नं. ४ इवामा जन्मिएर हाल काठमाडौँ महानगरपालिका-२९ मा बसोबास गर्दै आएका इङ्नामलाई गाउँ कार्यपालिकाको निर्णयबमोजिम लेखक इङ्नामलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए।

लेखक इङनामले लेखेको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत् १७१९-२०२०’ का लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । लेखक इङ्नाम पूर्वप्रशासन समेत हुन्। नेपाल सरकारको उपसचिव रहेका उनले निजामती सेवाबाट निवृत्त भएपछि उक्त पुस्तक लेखेका थिए।

लेखक इङनामलाई गाउँपालिका अध्यक्ष पाहिमसहितको टोलीले अनामनगरस्थित घरमै पुगेर सम्मान अर्पण गरेको हो। तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता सीता गुरुङले लेखक इङ्नामलाई सम्मानपत्र सहित नगद पुरस्कार अर्पण गरिन्।

सम्मान अर्पण गर्दै सांसद गुरुङले लेखक इङ्नामले पुस्तकका माध्यमबाट समग्र लिम्बुवानको इतिहास, भाषा एवम् संस्कृतिको संरक्षक तथा प्रवर्द्धक भई पुर्‍याएको योगदानको कदर भएको बताइन्। उनले तेह्रथुम जिल्लामा जन्मिएर राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा ख्याति कमाएका सबै प्रतिभाहरूलाई स्थानीय तहहरूले सम्मान गर्दै जानुपर्ने समेत बताइन्।

तपाईको प्रतिक्रिया