दिपेश रोक्का , कानेपोखरी ।  जहदा गाउँपालिका वडा नं. ४ को आयोजनामा सम्पन्न प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल टूर्नामेन्टको फाइनल खेलमा मातृभूमि युवा क्लब कानेपोखरी खोरियाले नोचा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।

फाइनल खेलमा मातृभूमि युवा क्लबका शम्भु राई र प्रशान्त थापाले एक–एक गोल गर्दै टिमलाई विजयी बनाए। बलियो रक्षापङ्क्ति र आक्रामक रणनीतिका साथ मातृभूमि युवा क्लबले नोचा युवा क्लबलाई खेलभर दबाबमा राख्यो।

विजेता मातृभूमि युवा क्लबले प्रथम पुरस्कारस्वरूप ४१,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता नोचा युवा क्लबले दोस्रो पुरस्कारस्वरूप ३१,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

मातृभूमि युवा क्लबका संयोजक सन्दीप खत्रीले दिएको जानकारीअनुसार, यो टूर्नामेन्टले स्थानीय युवाहरूमा खेलकुदप्रति रुचि बढाउन र सामुदायिक एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। आयोजक जहदा गाउँपालिका वडा नं. ४ को पहलमा आयोजित यस प्रतियोगिताले स्थानीय फुटबलको विकास र युवा प्रतिभा उजागर गर्न ठूलो भूमिका खेलेको उनले बताए।

पुरस्कार वितरण समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो। यो जितले मातृभूमि युवा क्लब र समर्थकहरूमा उत्साह थपेको छ। आगामी दिनमा यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया