काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमैत्री कानूनहरू बनाउन आवश्यक रहेको बताएका छन्। उनले कानूनीरुपमा ती समुदायको अधिकार स्थापित भए मात्रै समुदायमा स्वीकारोक्ति बढ्दै जाने र विभेदको निराकरण गर्न सकिने बताए।

शनिबार होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवसका सन्दर्भमा मितिनी नेपालले गरेको कार्यक्रममा मन्त्री भण्डारीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि संविधानमा केही व्यवस्थाहरू भएपनि त्यसअनुकुल कानूनहरू बनाउन ढिलाइ भइरहेको बताए।

मन्त्री भण्डारीले समय सापेक्ष श्रम ऐन पनि संशोधन हुने प्रक्रियामा रहेको भन्दै श्रम ऐनले कुनै पनि नागरिकलाई विभेद नगरेको दाबी गरे। ‘सबैले श्रम गरेर आफ्नो जीविकोपार्जन गर्न पाउनुपर्छ । हाम्रो संविधानले नै सबै नागरिकलाई विभेदरहितरुपमा समाजमा रहन, श्रम गर्न र बाँच्न पाउने अधिकार दिएको छ,’ उनले भने, ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि अझैपनि कानूनी व्यवस्थाहरू आवश्यक छन्। त्यसका लागि सबैको ध्यानाकर्षण हुन जरुरी छ।’

फोबिया एक प्रकारको डर भएको भन्दै उक्त डरबाट मुक्त भई एकताबद्ध रूपमा समुदायलाई शक्तिका साथ अगाडि बढाउन उनले आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले संविधान तथा कानूनले कुनै पनि जात, धर्म, वर्ण, लिङ्ग र सम्प्रदायलाई भेदभाव नगर्ने भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मुद्दामाथि छलफल गर्नु राज्यको दायित्व भएको बताए। उनले अहिले पनि समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र विवाह जस्ता आधारभूत मानव अधिकारको सदुपयोग गर्न नपाएको गुनासो गर्दै बहुसंख्यकको हक जति छ अल्पसंख्यकको हक पनि उत्तिकै हुने बताए।

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले समुदायको उपस्थितिले शक्तिको प्रतिनिधित्व गरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अस्तित्वलाई एसिया र विश्वमा नै तेस्रो मुलुकको रुपमा नेपालले स्वीकार गरेको बताइन्। सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनेर घोषणा गरेको थियो। सोही दिनको स्मरणमा विश्वव्यापी रुपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ।

कार्यक्रमको अवसरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति तथा जोडी भनी पहिचान गर्ने ११ प्रेरणादायक कथा समेटिएको पुस्तक ‘समुदायको शक्ति’ विमोचन गरिएको थियो। पुस्तकमा समावेश भएका जोडीहरूलाई सम्मानसमेत गरिएको थियो।

तपाईको प्रतिक्रिया