काभ्रे । आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संस्कार र संस्कृति लोप भइसकेको अवस्थामा संरक्षणका लागि प्रशिक्षण दिन थालेका हुन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग तथा हायु समाज नेपालको आयोजनामा यहाँका समुदायका लागि आइतबारदेखि भाषा प्रशिक्षण सुरु गरिएको हो । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले कुनै पनि समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिविना पहिचान जोगाउन नसकिने भएकाले संरक्षणमा जोड दिइएको बताए ।
‘जुन समुदायको आफ्नै भाषा, संस्कार संस्कृति र भूगोल हुन्छ, उसैको पहिचान जीवित रहन्छ’, उनले भने, ‘लोपोन्मुख अवस्थामा रहेको समुदायले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति संरक्षण गर्न आफैँ जुट्नुपर्छ ।’ त्यसका लागि स्थानीय सरकारकोतर्फबाट विगतदेखि सो समुदायको उत्थान र विकासका लागि सहयोग गर्दै आइएको जनाउँदै उनले सोही अनुसार निरन्तरता दिइएको बताए ।
हायु समाज नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुले आफ्नो समुदायको भाषा लोप हुँदै गएकाले संरक्षण गर्न प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताए । भाषासँगै पहिचान पनि लोप हुने अवस्था रहेकाले संरक्षणको खाँचो देखेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा पहिलो पटक सिन्धुलीको सुनकोशी र गोलञ्जोर गाउँपालिका तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा भाषा कक्षा थालनी गरिएको अध्यक्ष हायुले जानकारी दिए । सो क्रममा भाषासँगै संस्कार, संस्कृति र सभ्यता पनि सिकाउने उनको भनाइ छ । उनका अनुसार आइतबारदेखि १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ओम हायुले प्रशिक्षण दिइरहेका छन् । समुदायका अधिकांशले आफ्नो मातृभाषा बोल्न जान्दैनन् ।
रोशी गाउँपालिकास्थित बाल्टिङमा रहेको सो समुदायको संरक्षणका लागि राज्यले प्रतिव्यक्ति चार हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । गाउँपालिकाले पनि हायु समुदायको संस्कार र संस्कृति जोगाउन लगानी गर्दै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले यो समुदायको सांस्कृतिक बाजासहितको सामग्री हस्तान्तरण गरेको थियो । यसपटक पनि आवश्यक सामग्री हस्तान्तरण गरिएको पालिका कार्यालयले जनाएको छ । बाल्टिङमा लोपोन्मुख हायु समुदायको १० परिवारमा ८५ जनाको बसोबास छ ।