काठमाडौँ । सरकारले समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूतविरुद्ध जनचेतना फैलाउन राष्ट्रिय अभियान चलाउने घोषणा गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले जातीय भेदभाव र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।
उनले सरकारले समतामुलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सामाजिक अन्तरमिलन र अन्तरघुलन कार्यक्रम सञ्चालन गर्ने बताए।
त्यस्तै, जेठ २१ गतेलाई जातीय भेदभावविरुद्ध राष्ट्रिय दिवस मनाउने समेत घोषणा गरेका छन्। २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई जातीय भेदभाव र छुवाछूतमुक्त घोषणा गरेको थियो।
सोही दिनको स्मरण गर्दै सरकारले यो दिवस मनाउने घोषणा गर्दै आएको छ। तर अहिलेसम्म सरकारीस्तरबाट यो दिवस मनाउन कुनै पनि पहलकदमी भएको पाइदैन। आगामी वर्ष पनि सरकारले यो दिवस मनाउने गरी बजेटमा घोषणा गरेको हो।