काठमाडौँ । श्रमिकहरु सम्मिलित विश्वको सर्वोच्च संस्था इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशनका महासचिव लुक ट्रयांगलसँग नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईको भेटवार्ता भएको छ।
राईले कन्फेडेरेशनको प्रधान कार्यालय ब्रसेल्समा महासचिव लुकसँग भेटवार्ता गरेका हुन्। भेटमा महासचिव राईले नेपालको श्रमिक आन्दोलन र वर्तमान अवस्थामा नेपाली श्रमिक आन्दोलनमा रहेका समस्याहरूका विषयमा जानकारी गराएका थिए। नेपालमा सबै राजनैतिक दलहरु तथा नीतिगत निर्णय गर्ने निकायहरूमा रोजगारदाताहरुको प्रभाव बढेको र श्रमिकहरुको प्रभाव बढाउनेतर्फ राजनीतिक दलहरु उदासिन भएको राईको भनाइ थियो।
हालैमा करिब एक महिनाभन्दा बढी समय आफ्नो अधिकारकालागि गरिएको काठमाडौँकेन्द्रित शिक्षक आन्दोलनलाई पनि सरकारले खासै महत्व नदिएको, बैंक तथा वित्तिय संस्थाप्रति अदालतको आदेश अनुसार श्रम कानुनले प्रभाव नपार्ने भनी गरिएको निर्णयले सो क्षेत्रको श्रमिक आन्दोलनप्रति हुन जाने समस्या लगायत विषयमा समेत जानकारी गराएका थिए।
जवाफमा कन्फेडेरेसनका महासचिव लुकले नेपाली श्रमिकहरूका सवालमा विश्वका २० करोड ७० लाख श्रमिकहरूको ऐक्यवद्धता रहेको बताए। उनले त्यसका लागि महासंघका तर्फबाट सबै सहयोगका लागि समेत आफूले पहल गर्ने बताए।
महासंघमा विश्वका १६३ देशका ३३१ राष्ट्रियस्तरका राष्ट्रिय ट्रेड युनियन केन्द्रहरू आवद्ध रहेका छन्। त्यसमध्ये नेपाल ट्रेड युनियन सबैभन्दा पूरानामध्येको एक संस्था हो।