काठमाडौँ । सरकारले भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे।
त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको बताए।
‘दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आय आर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ। आधुनिक प्रविधिको प्रयोग गरी सुन, चाँदी, काँस, तामा, फलाम, छाला, काठ, पत्थर लगायतका सामाग्री उत्पादन र बजारीकरण गरिनेछ,’ बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले भने, ‘यसका लागि पुँजीगत अनुदान, सहुलियपूर्ण कर्जा र सीप विकास तालिम उपलब्ध गराउन ५० करोड विनियोजन गरेको छु।’
त्यस्तै, सरकारले सुनचाँदी गहना निकासी गर्ने उद्योगलाई वण्डेड वेयर हाउसको सुविधा उपलब्ध गराउने भएको छ। त्यस्ता उद्योगले निकासी मूल्यको न्यूनतम ५० प्रतिशत विदेशी मुद्रा अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्न सक्ने व्यवस्था मिलाइने अर्थमन्त्री पौडेलले बताए।
त्यस्तै, सरकारले लक्षित समुदाय र हिमाली जिल्लाका विद्यार्थीहरूलाई छात्रवृत्त उपलब्धतालाई निरन्तरता दिने भएको छ। सरकारले मुसहर, डोम र चमर समुदायका विद्यार्थीलाई चिकित्सासम्बन्धी उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गर्ने जनाएकव छ। उक्त कार्यक्रमका लागि २ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।