ललितपुर । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ वर्ष बितेको छ। तत्कालीन पुनस्थापित संसद्ले २०६३ जेठ २१ गते संकल्प प्रस्ताव पारित गर्दै नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो।
उक्त दिनको स्मृतिमा नेपालमा वर्षेनी विभिन्न कार्यक्रम हुँदै आएका छन्। यो वर्षमा पनि यो दिनको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। राष्ट्रिय दलित आयोगले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ भने अन्य विभिन्न संघसंस्था र दलित अधिकारकर्मीहरूले यो दिनलाई महत्वका साथ मनाउँदैछन्।
नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागले पनि यो दिनलाई समता दिवसकारुपमा मनाउँदै छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ भने त्यसपछि दलित समुदायको अधिकार प्राप्तिको संघर्षका सन्दर्भमा छलफल कार्यक्रमहरू आयोजना गरिएको विभागकी प्रमुख लक्ष्मी परियारले जानकारी दिइन्।