दिपेश रोक्का/ कानेपोखरी । कानेपोखरी गाउँपालिकाको इतिहासमै पहिलोपटक सौन्दर्य तथा प्रतिभा प्रतियोगिता आयोजना हुने भएको छ। स्थानिय बालबालिकाको कला, आत्मविश्वास र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
प्रतियोगिताको अडिसन भोली शनिबार (२०८२ जेठ २४ गते) रमाइलोमा रहेको जनएकता साकोस भवनमा बिहानदेखि सुरु हुने जानकारी दिइएको छ।
छ देखि १२ वर्ष उमेर समूहका बालबालिका ‘जुनियर’ र १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरी ‘सिनियर’ श्रेणीमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा फेसन वाक, प्रस्तुतिकरण कला, बोल्ने शैली, नृत्य र अन्य प्रतिभा प्रस्तुत गर्न पाउनेछन्।
स्थानियस्तरमै पहिलोपटक यस्ता कार्यक्रम हुन लागेको भन्दै आयोजकले सम्पूर्ण कानेपोखरीबासी अभिभावक र बालबालिकालाई सक्रिय सहभागी हुन अनुरोध गरेका छन्। आयोजकका अनुसार प्रतियोगिता स्थानीय युवा, विद्यार्थी, अभिभावक र समुदायबीच समन्वय र सिर्जनात्मकता बढाउने माध्यम पनि बन्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी बालबालिकालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट प्रतिभालाई विशेष सम्मान गरिने आयोजकको भनाइ छ।