दिपेश रोक्का, कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ स्थित सिंहादेवी माविमा लागुऔषध दुर्व्यसनविरुद्धको एक हप्ते सचेतनामूलक कार्यक्रम सुरु भएको छ। सोमबारबाट सुरु भएको कार्यक्रमको पहिलो दिन उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएका छन्।
कानेपोखरी गाउँपालिका वडा नं. ५ को आयोजनामा, कानेपोखरी रिकभरी समूहको प्रायोजन तथा उधार सुधार केन्द्रको सहकार्यमा सुरु भएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षकहरूले लागुऔषध दुर्व्यसनका कारण, लक्षण, असर र उपचारको उपायबारे जानकारी दिएका थिए। साथै, सुधारको सम्भावना र आत्मबल बढाउने उपायसमेत प्रस्तुत गरिएको थियो।
“सचेतनाबाटै सुधारको यात्रा सुरु हुन्छ,” कार्यक्रममा सहभागी एक प्रशिक्षकले भने, “समाज र समुदायको सहयोगले मात्र दीर्घकालीन सुधार सम्भव हुन्छ।”
कार्यक्रम आयोजकले स्थानीय स्तरमै उपचार, सीप विकास र आत्मबल अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएका छन्। आगामी दिनहरूमा परामर्श सेवा, अनुभव आदानप्रदान र नाटकमार्फत चेतना फैलाउने योजना रहेको छ।
कार्यक्रम २०८२ जेठ २६ गतेदेखि सुरु भइ सात दिनसम्म चल्नेछ।