काठमाडौँ। वषौँदेखि दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्य र मुक्तिको आधार निर्माण गर्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु गरिएको सम्मेलन आइतबार सम्पन्न भएको हो ।

सम्मेलनले ‘४२ बुँदे संकल्प पत्र’ पारित गरेको राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल कुमार बिश्वकर्माले जानकारी दिए । संम्मेलनले दलित मुक्तिको बैचारिकीमा सामुदायिक समाजवादको दर्शन प्रस्ताव गरेको उनले बताए ।

सम्मेलनले दलित मुक्तिको सैद्धान्तिक आधारमा सहकार्य र संघर्षको सिद्धान्तलाई अगाडी सारेको भन्दै संयोजक बिश्वकर्माले सम्मेलन दलित मुक्तिको खाका कोर्ने कडीको रुपमा कोशेढुंगा बन्न सफल भएको बताए ।

गोलमेच सम्मेलनले दलित मुक्ति आन्दोलनको इतिहाँस निर्माण गर्न सफल भएको भन्दै उनले सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय रुपमा सकारात्मक संदेश प्रवाह भएको जानकारी दिए ।

उनले भने, ‘हामीले राष्ट्रिय दलित गोलमेच सम्मेलन ऐतिहासिक रुपमा भब्य रुपले सफल पारेका छौँ । यो नेपालमा पहिलो पटक गरिएका भए पनि यसका बुहआयामिक पक्षहरु छन् । ति पक्षलाई यो सम्मेलनले संबोधन गरेको छ ।’

गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या आस्थाभन्दा माथि उठेर नितान्त दलित दलित मुक्ति आन्दोलनबाट प्रेरित रहेको उनले जानकारी दिए । सम्मेलनमा सदियौंदेखि दलित समुदायमाथि भइरहेको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास स्वरुप गरिएका आन्दोलनको समिक्षा गरिएको उनले बताए । सम्मेलन सफल पार्न देश बिदेशबाट सहयोग भएको भन्दै संयोजक बिश्वर्माले सबै पक्षलाई धन्यबाद दिए ।

सामाजिक अभियान्ता तथा ‘घर-घरमा शिक्षा’ अभियानका अध्यक्ष डा. होमराज आचार्यले देशमा भइरहेको जातीय छुवाछुत राज्यको समस्या भएको र त्यसको अन्त्य गर्न राज्यलाई दवाब दिन सम्मेलन सफल भएको बताए । अभियन्ता आचार्यले देशमा भएको लामो संघर्ष र परिवर्तनपछी पनि दलित समुदायले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको भन्दै गोलमेच सम्मेलनमार्फत जातीय बिभेद अन्त्य र मुक्तिको मार्ग प्रशस्त भएको धारणा ब्यक्त गरे ।

राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिति सचिवालय सदस्य तथा अभियन्ता राजेश नेपालीले दलित गोलमेच सम्मेलनमा देशका ७ वटै प्रदेश र ७७ जिल्लाबाट दलित अभियन्ताको उपस्थिति रहेको बताए । सम्मेलनमार्फत ७ दशक लामो दलित आन्दोलन र संविधानसभाबाट निर्मित २०७२ सालको संविधान कार्यान्वयनको समीक्षा गर्दै वैचारीकी र नविन आन्दोलनको नयाँ मार्ग तय गर्न सफल भएको बताए ।

राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समितिका सदस्य निर्मला परियारले गोलमेच सम्मेलनले राज्यको सबैभन्दा तल्लो स्तरमा रहेका दलित महिलाको समेत मुक्तिको खाका कोर्न सफल रहेको बताइन् । ६० लाख दलितलाई एक ठाउँमा ल्याउने खालको आधार निर्माण गर्न सम्मेलन सफल रहेको उनको भनाई छ ।

आइतबार सम्पन्न भएको सम्मेलनका बारेमा पत्रकार सम्मेलन गरि तत्काल घोषणा पत्र जारी गरिने बताइएको छ ।

यो सम्मेलनले सामाजिक न्यायका लागि दलित महा अभियान संचालन गर्न डा. निर्मल कुमार बिश्वकर्माको संयोजकत्वमा सबै क्षेत्र जाती समेटेर २१ सदस्यीय कमिटी निर्माण गरेको छ । सम्मेलनमा देशभरिबाट दलित अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया