
काठमाडाैँ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न माग गर्दै दबाब अभियान थालेको छ। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका क्याम्पस इकाइ समितिहरूलाई निर्देशन दिँदै योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्त गर्न दबाबस्वरुप चरणवद्ध कार्यक्रमहरू गर्न निर्देशन दिएका छन्।
‘त्रिभुवन विश्वविद्यालयको नेतृत्व हाल निमित्तवादमा चलिरहेको छ। विद्याविद्यालयका पदाधिकारीबाट आफ्ना व्यक्तिगत अभिष्ट पूरा गर्न ऐन विपरीत मनपरी ढंगले विनियम, निर्देशिका, कार्यविधि निर्माण गरी जारी गरिएको विषय संसदीय समितिहरूसम्म छलफलको विषय बन्नु लज्जास्पद हो भन्ने हाम्रो बुझाइ छ,’ शेर्पाले भनेका छन्, ‘हाम्रो लामो संघर्षपछि बनेको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८० लाई लत्याउँदै फेरि विश्वविद्यालयको उपकुलपति लगायत पदाधिकारी दलीय भागबन्डाको आधारमा नियुक्ति गर्ने प्रपञ्च भइरहेको छ। यस्तो हुनुहुँदैन। उपकुलपति योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनुपर्छ।’
उनले प्राजिक योग्यता, पारदर्शिता र मर्यादालाई लत्याउँदै राजनीतिक भागबन्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्ति गर्ने नियतले पदपूर्ति प्रक्रिया अगाडि बढिरहेको बुझिएको भन्दै त्यसलाई रोक्न नेविसंघले देशव्यापी आन्दोलन थालेको बताए। पहिलो चरणमा विश्वविद्यालयमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको विषयमा क्याम्पसहरूमा सचेतना कार्यक्रम, त्यस्तो माग गर्दै हस्ताक्षर संकलन, पत्रकार सम्मेलन, सार्वजनिक छलफल कार्यक्रमहरू गर्न लागिएको उनले बताए। त्यस्तै, दलीय भागबण्डामा आधारमा गरिन लागिएको नियुक्तिविरुद्ध संयुक्तरुपमा विरोध पत्र तयार गरी बुझाउने, क्याम्पसमा क्रियाशिल संघ, संगठन र स्वतन्त्र समूहसमेतहरुलाई अभियानमा जोड्ने र एकीकृतस्वरुपको संयुक्त आन्दोलन गर्ने व्यवस्था गर्न मातहतका सबै क्याम्पस समितिहरुलाई परिपत्र गरिएको उनले बताए। ४. आआफ्ना गतिविधिहरूको संक्षिप्त प्रतिवेदन केन्द्रीय समितिमा पठाउने।
