काठमाडौँ। सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन अभिप्रेरित गर्न मिडियाले ती समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।
एकता फाउण्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा आज यहाँ आयोजित सामाजिक मुद्दा उठानसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनालीले सीमान्तकृत समुदायको अधिकार र सवालमा मिडियाले आवश्यक सहयोग पुग्ने गरी लेख्न नसकिरहेको बताए। उनले सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन पत्रकारिताले अहम् भूमिका निर्वाह गर्ने हुँदा यस क्षेत्रमा संवेदनशीलता आवश्यक रहेको बताए।
सामाजिक न्याय र समावेशिता प्रवर्द्धनका लागि पत्रकारहरूले गर्दै आएका अभ्यासबारे प्रष्ट पार्दै मैनालीले मुद्दा उठानको कला र ज्ञानसम्बन्धी प्रशिक्षित गरे।
नेपाल पत्रकार महासङ्घका केन्द्रित सचिव प्रकाश धौलाकोटीले दलित, महिला र सीमान्तकृत समुदायका मुद्दालाई मूलधारका सञ्चारमाध्यमले उचित स्थान नदिने गरेको बताए। कतिपय निकै ठूला मुद्दालाई साना मिडियाले समेटे पनि मूलधारका सञ्चारमाध्यमले बेवास्ता गर्ने गरेको उनले सुनाए।
फाउण्डेसनका अध्यक्ष रामहरि शाहीले व्यवस्था परिवर्तनका लागि योगदान गरेका पत्रकारहरूले सामाजिक न्याय र समावेशीता प्रवर्द्धनका लागि निरन्तर निगरानी गरिरहनुपर्ने बताए।
कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक मुद्दामा समाचार लेखनमा सामाजिक तथा आर्थिकलगायत थुप्रै चुनौतीको सामना गर्नुपर्ने अनुभव सुनाएका थिए ।