काठमाडौं। नेपालमा लागूऔषध दुर्व्यसन गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य संकटका रूपमा देखा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू दुर्व्यसनको चपेटामा पर्दै गएको सरकारी तथ्यांकले देखाएको छ।

दुर्व्यसनमा परेकाहरूमा क्रमश मानसिक समस्या गहिरिँदै गएको देखिन्छ। पूर्व लागूऔषध प्रयोगकर्ता प्राचीन सुनारका अनुसार पछिल्लो समय १३ वर्षदेखि २० वर्ष उमेर समूहका किशोर–किशोरी लागूऔषध दुर्व्यसनमा तानिएका छन् ।

उनले भनिन्, “उनीहरूमा गम्भीर मानसिक समस्या देखिन्छ । खासगरी महिला प्रयोगकर्ताको अवस्था अझै कमजोर छ । पुरुषका लागि केही सुधार केन्द्र भए पनि महिलाका लागि सुरक्षित, पहुँचयोग्य र स्थायी केन्द्रको अभाव छ ।”

लागूऔषध दुर्व्यसन बढ्दै जाँदा यौन हिंसाका घटना पनि बढ्दै गएको अनुमान गरिएको छ । कुनै अध्ययन अनुसन्धान नभपनि युवा पुस्तामा देखिएको लागूऔषध दुर्व्यसनले यौन हिंसाका घटना बढाएको अनुमान गर्न सकिन्छ राष्ट्रिय महिला आयोगकी माननिय सदस्य कृष्ण कुमारी पौडेलले बताइन्।

राष्ट्रिय महिला आयोगद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा पौडेलले पुरुष मानसिकताका कारण पनि काम गर्न निकै कठिन भएको बताइन् । आयोगलाई बजेट कम हुदाँ ७७ जिल्लाका घटनाहरू केलाउन समस्या भएको उनको भनाइ छ।

महिलामाथि हुने हिंसा देशभरि मौन देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा महिला आयोगमा दर्ता भएका ५ सय ६ उजुरीहरूमध्ये अधिकांश घरेलु हिंसा, मानसिक, शारीरिक र आर्थिक हिंसासँग सम्बन्धित छन् । तर पेशागत क्षेत्रमा हुने महिला हिंसा भने एकचोटि पनि उजुरीको रूपमा देखा परेको छैन । प्रहरीमा हिंसाका घटना हजारौंको संख्यामा दर्ता भएपनि आयोगको विवरण हेर्दा भिन्नताको ठुलो खाडल देखिएको छ ।

आयोगका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने महिला हिंसा ‘शून्य’ रहेका छन्। महिला आयोगको विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ११ वटा महिला हिंसाका उजुरी परेका छन् । त्यसपछि मधेश र कोशी प्रदेशमा क्रमशः १–१ वटा मात्र उजुरी दर्ता भएका छन् । बाँकी चारवटा प्रदेशमा एकपटक पनि महिला हिंसाको उजुरी परेको छैन, जुन चिन्ताजनक विषय हो ।

उजुरी संख्या हेर्दा आर्थिक हिंसा सबैभन्दा बढी देखिएको छ । महिलालाई रोजगारी गर्न रोक्ने, आयमाथि नियन्त्रण गर्ने, जग्गा वा सम्पत्तिमा हक नदिनेजस्ता समस्याले यो प्रकार उच्च देखिएको हुन सक्छ । तर दुखको विषय यौनजन्य हिंसाका उजुरी जम्मा ८ वटा मात्र छन्, जुन समाजमा व्याप्त कलंक, डर, बदनामीको कारणले उजुरी दर्तामा असहजता देखिएको संकेत हुन सक्छ ।

पेशागत महिला हिंसा किन देखिएन
कानुन, संविधान, र श्रम ऐनले कामदारको हक सुनिश्चित गरे पनि कार्यान्वयनको पाटोमा कमजोर देखिएको छ । धेरै महिलाहरू कार्यालय, उद्योग, सेवा क्षेत्र वा अनौपचारिक श्रम क्षेत्रमा यौन दुव्र्यवहार, मानसिक दवाव वा भेदभावको शिकार हुन्छन्, तर उनीहरू उजुरी गर्न सक्ने अवस्था छैन । अधिकारीहरूले भनेका छन्, ‘उजुरी नआएको भन्नु हिंसा नभएको होइन । महिलाले बोल्न सक्ने, सुन्ने, अनि न्याय पाइने वातावरण बनाउनै सकिएको छैन।’

कुन हिंसा कति?
आर्थिक हिंसा २५५
शारीरिक हिंसा २१५
मानसिक हिंसा १५१
यौनजन्य हिंसा ८

तपाईको प्रतिक्रिया