काठमाडौँ। सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले बिहीबार पनि विरोध
र्याली निकालेका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुकोरुपमा कर लगाएपछि व्यवसायीहरूले करसम्बन्धी त्यस्ता व्यवस्थाहरू खारेज गर्नुपर्ने माग गरेका छन्। सुनको भन्सार छिमेकी मुलुक भारतमा जस्तै ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्नेलगायत व्यवसायीको माग छ।
नेपाली समाजको एक संस्कार र संस्कृति बनिसकेको सुनलाई मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २५४ ले समेत नगद सरहको सम्पत्तिको मान्यता दिएको भन्दै व्यवसायीहरूले यस्तो माग गर्दै विरोधका कार्यक्रम गर्दै आएका छन्।