काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले भातृ संस्थाहरू पार्टीका पिल्लरहरूको रुपमा रहेको बताएका छन्।

उनले पिल्लर नै कमजोर भए पार्टी बलियो हुन नसक्ने बताए। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता नेपालीले भातृ संस्थाहरूको अधिवेशन यथासक्य चाँडो सम्पन्न गर्ने गरी मिति सुनिश्चित गर्नुपर्ने माग गरेका हुन्।

‘सबै भ्रातृ संगठनहरू समस्यामा छन्। अधिकांशले अधिवेशन गर्न सकेका छैनन्। अधिवेशन नहुँदा त्यसको प्रभाव तिनको सक्रियतामा मात्रै होइन, कार्यकर्तामाझ पार्टीप्रति निराशा बढेर गएको छ,’ बैठकमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै उनले भने, ‘पार्टीका पिल्लरका रुपमा रहेका भातृ संस्थाहरूको अधिवेशन सुनिश्चित गर्नुपर्दछ।’

उनले नेपाल दलित संघमा अध्यक्षले मनपरी गर्न थालेको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण गराए। ‘नेपाल दलित संघ समग्र दलित समुदायको साझा संगठन हो। तर आज अध्यक्षको मनोमानीले दलित संघ भद्रगोल अवस्थामा पुगेको छ,’ उनले भने, ‘कार्यसम्पादन समिति नै असमावेशी छ। केही निश्चित जाति र व्यक्तिहरूमात्रै समितिमा अँटाएर संघ चल्न सक्दैन।’

उनले नेता-नेताको विवादका कारण जिल्लैपिच्छे विवाद सिर्जना भएको अवस्था देखिएको भन्दै विवाद र झगडालाई आन्तरिकरुपमै मिलाएर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताए। ‘१०० दिने अभियान चल्यो। तर नेताहरूको विवादका कारण कतिपय जिल्लामा एउटा बैठक पनि बस्न नसक्नु दुखद छ,’ उनले भने, ‘यसप्रति पनि पार्टीको ध्यान जाओस्। नेताहरूकै जिल्ला र क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण भएको छैन। यो सदस्यहरूले नचाहेर ढिला भएको हो कि उनीहरूले संगठन त्याग गरिसकेर हो? त्यसबारे पनि ध्यान पुर्‍याऔँ।’

नेता नेपालीले आफ्नो संयोजकत्वमा ट्रेड युनियन विभागमा निकै समस्याहरू रहेकोमा हाल ती समस्याहरू समाधान भएर एकताबद्ध रुपमा ट्रेड युनियन अघि बढेको बताए।

उनले निजामति सेवा विधेयक निर्माणमा क्रममा पार्टीले तल्ला तहका कर्मचारीहरूको आवाजलाई ध्यान नदिएको बताए। ‘निजामती सेवा विधेयक निर्माणमा हाम्रो ध्यान कुलिङ पिरियडमा मात्रै गयो। तल्ला तहका कर्मचारीका माग र चासोलाई हामीले सम्बोधन गर्न सकेनौँ। यसमा उहाँहरूको गम्भीर गुनासा आएका छन्,’ उनले ध्यानाकर्षण गराउँदै भने।

तपाईको प्रतिक्रिया