काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशहरूबाट अमेरिका आयात हुने वस्तुहरूमा अगस्ट १ देखि २५ देखि ४० प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र म्यानमारका नेताहरूलाई नयाँ आयात करका दरहरू समेटिएका पत्रहरू सार्वजानिक गर्दै यसको घोषणा गरेको सीएनबीसी न्युजले जनाएको छ ।
यसबाहेक उनले बोस्निया र हर्जगोभिना, ट्युनिसिया, इन्डोनेसिया, बंगलादेश, सर्बिया, कम्बोडिया र थाइल्यान्डका नेताहरूलाई अर्को सात पत्र पोष्ट गरेका छन्। ट्रम्पले पोस्ट गरेका पत्रहरू अनुसार जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान र ट्युनिसियाबाट अमेरिकामा आयात हुने वस्तुहरूले अब २५ प्रतिशत आयात करको सामना गर्नुपर्नेछ ।
दक्षिण अफ्रिका र बोस्नियाका वस्तुहरूमा ३० प्रतिशत अमेरिकी आयात कर लाग्नेछ भने इन्डोनेसियाबाट आयात हुने वस्तुहरूमा ३२ प्रतिशत उत्पादन कर लाग्नेछ । बंगलादेश र सर्बियामा ३५ प्रतिशत कर लाग्नेछ । कम्बोडिया र थाइल्यान्डमा ३६ प्रतिशत करको दर निर्धारण गरिएको छ ।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका पत्रहरू अनुसार लाओस र म्यानमारबाट आयात हुने वस्तुहरूले ४० प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पले सोमबार ती पत्रशरूमा हस्ताक्षर गरेका हुन् ।