काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले बर्सातको समयमा सम्भावित बाढीपहिरो जस्ता विपद्मा परेका पीडितलाई शीघ्र उद्धार तथा राहतका लागि सरकारको पर्याप्त तयारी नपुगेको बताएकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद मिजारले रसुवाको नेपाल-चीन सिमानास्थित भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको भन्दै तत्कालै बेपत्ता व्यक्तिहरुको खोजीमा जुट्न र उद्धार तथा राहत एवम् पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
‘नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रुपमा बगाएर दुई देशबीचको आवागमन अवरुद्ध हुनुका साथै सुरक्षामा खटएका प्रहरीसहित नेपाली र चिनियाँ नागरिक गरी १८ जना व्यक्ति हराइरहेका, टिमुरे भन्सार र जलविद्युत परियोजनामा समेत भौतिक पूर्वाधारसहित ठूलो मात्रामा क्षति पुगेको र सो क्षेत्रका आम सर्वसाधारण र उद्धारमा खटिएका सुरक्षाकर्मीहरु स्वयं जोखिममा परेको खबरले स्तब्ध बनाएको छ,’ उनले भनिन् ।
विपद्को घडीमा नुवाकोट र रसुवाका प्रमुख पदाधिकारी जिल्लाबाहिर रहनु गम्भीर लापरबाही भएको उनको भनाइ थियो ।
यस्तै, नुवाकोटको बिदुर नगरपालिका-१ मा त्रिशूली नदीमा आएको बाढीमा फसेका एक महिला र एक पुरुषलाई सेनाको हेलिकोप्टरको सकुशल उद्धार गरेकामा उनले धन्यवाद व्यक्त गरिन् ।