काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ मा छाउगोठमा सुतेको बेला सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको भन्दै सांसद मिजारले अहिलेको समयमा पनि छाउगोठमा महिलाको मृत्यु हुनु अन्तर्राष्टिय समुदायमाझ नेपालीका लागि लज्जाको विषय भएको बताइन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद मिजारले समाजको कलंकका रुपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । उनले आउजीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन समेत माग गरिन् ।
फरक विषयमा उनले नुवाकोटका अधिकांश किसान डिएपी मलको अभावसँग जुधिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सरकारी गोदाममा मल नपाइने, तर बजारमा भने दोब्बर मूल्यमा त्यही मल सजिलै पाइने किसानहरूको गुनासो रहेको भन्दै उनले यसबारे तत्कालै छानवीन गरी कालाबजारीलाई प्रोत्साहन गर्ने दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन र किसानहरुलाई सहज रुपमा उपलब्ध गराउन माग गरिन् ।